महामारी नियन्त्रणमा सरकारका आठवटा गम्भिर कमजोरी -क्रान्तिकारी माओवादी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले महामारी नियन्त्रण र लकडाउनद्वारा सिर्जित समस्या समाधानमा सरकारले जनताको आँखामा छारो हाल्ने काम गरेको र एकपछि अर्को सरकारले गैरजिम्मेवारपूर्ण रवैया प्रदर्शन गरेको भन्दै सरकारको तीव्र विरोध एवम् भत्र्सना गरेको छ । महामारी नियन्त्रण तथा लकडाउनबाट सिर्जित समस्याहरुलाई आठ बुँदामा उल्लेखित गर्दै ती समस्या अविलम्ब रुपमा समाधान गर्न सरकारसित जोडदार माग गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’द्वारा बुधबार जारी गरिएको वक्तव्यमा यस्तो माग गरिएको छ । वक्तव्यमा उल्लेखित आठ बुँदाको आधारमा सरकारलाई दबाब दिन पनि आम जनसमुदायमा हार्दिक अपिल गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “सरकारले महामारीको नियन्त्रण र लकडाउनद्वारा सिर्जित समस्या समाधान गर्न भनी केही घोषणाहरु पनि गरेको छ । ती घोषणा सुन्दा नराम्रा छैनन् । तर व्यवहारमा हेर्दा ती घोषणाले जनताको आँखामा छारो हाल्ने काम मात्र गरेका छैनन्, बरु तिनले सत्तामा बस्नेहरुका लागि आर्थिक लाभ गराउने साधन बन्न गएको आभाष दिएका छन् । हाम्रो पार्टी यसको तीव्र भत्र्सना गर्दछ ।”