अति बिपन्नलाई खाद्यान्न राहत दिने बर्दघाट नगरपालिकाको तयारी

एकद्धार प्रणाली

0

 

तयारी छलफलमा जुट्दै

रवि पाण्डेय
नवलपरासी १८ चैत्र – बर्दघाट नगरपालिकाले नगरभित्रका अति विपन्न तथा दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने नगरवासीका लागि राहतस्वरुप खाद्यान्न वितरणको तयारी गरेको छ ।  एकद्धार प्रणाली मार्फत नगरले अति विपन्न तथा दैनिक ज्यालादारीबाट गुजारा गर्ने नगरवासीका लागि खाद्यान्न वितरणको तयारी गरेको हो । कोरोनाका कारण भएको लकडाउनले ज्याला मजदुरी गर्न नपाएका अतिबिपन्न परिवारहरुका जिविकालाई केही सहज होस भन्ने उद्धेश्यले तत्काल राहत प्याकेज लिएर जाने तयारी भएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
त्यसका लागि सहयोगी हातहरुसंग नगरले नगद तथा जिन्सी सहयोगको अपिल समेत गरेको छ ।
त्यस्तै प्रकोप ब्यवस्थापन कोषमा सामाजिक संघसंस्था , सहकारी संजाल, नीजि क्षेत्र एंव सामुदायिक तथा नीजि बिद्यालय एंव बिभिन्न गैर सरकारी संघसंस्था तथा ब्यक्तिहरु ईच्छुक जो कोहीले पनि नगद प्रदान गर्न सक्ने नगरपालिकाले जनाएको छ ।
यस अघि एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ८३४१४९८४८२५२४००७ को ब्यवस्था गरेको नगरले तत्काल विपन्नहरुका लागि राहत प्याकेज ब्यवस्था गर्न लागेको हो ।
त्यस्तै नगरपालिकाले अति विपन्न तथा दैनिक ज्यालादारीबाट गुजारा गर्ने नगरवासीका खाद्यान्नको ब्यवस्था गर्नका लागि प्रत्येक वडाबाट लगत संकलन कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।
तत्काल अतिबिपन्न तथा दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्नहरुलाई ५ किलो चामल, १ किलो दाल तथा आधा लिटर तेल र एक किलो नुनको ब्यवस्था गर्न लागेको बर्दघाट नगरपालिकाका नगर प्रमुख बस्यालले बताउनुभयो ।
उहाँले पहिलो प्राथमिकतामा परेका अतिबिपन्न तथा दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरु नगरवासी लाई सानो प्याकेजको ब्यवस्था पछि आवश्यकता अनुसार कार्यक्रम थप गर्दै लैजाने बताउनुभयो ।
त्यस्तै प्रत्येक वडावासी लक्षित वर्गको पहिचान सहित लगत संकलन भईरहेको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिनुभयो । सो कार्यक्रम तत्कालैबाट लागू गर्न भएकोले प्रत्येक वडाले लक्षितवर्गका वडावासीको नामावली तयारी गरेर नगरमा बुझाएको वडा नम्बर ३ का वडाध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताउनुभयो ।
त्यस्तै वडालाई तत्काल राहत दिने विपन्नको छनौट गर्न असहज भएपनि अति बिपन्न तथा दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्नेहरुको संख्या यकिन गर्न गाह्रो नभएको वडा नम्बर २ की वडाध्यक्ष दया दर्लामीले बताउनुभयो ।
त्यस्तै वडा नम्बर ८ का वडाध्यक्ष कबिराज आचार्यले करिब ४० घर परिवार अतिबिपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने भएपनि तत्काल २१ घर परिवारलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
वडा नम्बर ७ ले प्राथमिकतामा ४१ घर र वडा नम्बर २ ले ५१ घर परिवारको नामावली प्रदान गरेका छन् । अन्य सबै वडाहरुले समेत तथ्याक बुझाउने अन्तिम चरणमा छन् । त्यस्तै राहत बितरणलाई पारदर्शी एंव लक्षित वर्गमा लैजानका लागि नीजि क्षेत्र तथा बिभिन्न दाता संघसंस्थाबाट समेत बितरणमा प्रतिनिधित्व गराउने नगरको योजना छ ।
त्यस्तै नगरपालिकाले प्रकोप ब्यवस्थापन कोषमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । मंगलवार नवजिवन माविका शिक्षक तथा कर्मचारी परिवारले कोषमा २५ हजार प्रदान गरेका छन् ।

You might also like