सत्तारुढ नेकपाको बैठकमै नेतृत्व बिरुद्ध ‘नारावाजी’ बीच जिम्मेवारी बांडफांड

0

नवलपरासी – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)पश्चिम नवलपरासीको दोस्रो बैठकमा मापदण्ड विपरित कार्यबिभाजन गरिएको भन्दै ‘चर्काचर्की ‘ भएको छ । पार्टी जिल्ला नेतृत्वले ल्याएको कार्यबिभाजनको प्रस्ताव माथि असन्तुष्ट रहेकाहरुले बिरोध गरेपछि बैठकमा ‘चर्काचर्की ‘ भएको हो । मापदण्ड विना कार्यविभाजन गरेको भन्दै बिरोधमा उत्रिएकाहरुले ‘तानाशाह लादन पाइदैन’ ‘ एकल निर्णय गर्न पाइदैन ‘ भन्दै नेतृत्व बिरुद्ध नारावाजी गर्दै ‘मञ्च घेराउ’ समेत गरेको स्रोतले जनाएको छ । पार्टी सम्बद्ध विश्वस्त स्रोतले दिएको जानकारी अनुसार विवाद बढदै जादाँ परासी क्याम्पसको हलमा आयोजित सो बैठकमा ‘माइक खोसाखोस र धकेलाधकेल’ समेत भएको थियो । बैठकमा पूर्व माओवादी र पूर्व एमाले बीचमा मात्र नभएर पूर्व एमालेहरुकैबीचमै समेत समेत कार्यविभाजनको बिषयमा भएको विवाद देखिएको बताइएको छ ।

असन्तुष्ट नेता कार्यकर्ताले मापदण्ड विपरित छलफल विना ‘गोजी’बाट जुनियरहरुको प्रस्ताव गरिएको भन्दै आक्रोश पोखेका थिए । बैठकमा डोलराज भण्डारीले बोल्न पाउनुपर्छ भन्दै माग गरेपछि अधिकांशले धारणा राख्न पाउनुपर्ने विचार ब्यक्त गरेको स्रोतको दावी छ । ‘खास भन्ने हो भने नेतृत्वको बिरुद्ध कुरा राख्नेहरुलाई निषेधित गरियो ‘ – असन्तुष्ट समुहका एक नेताले नाम नलेख्ने शर्तमा भने – ‘यसैको कडि स्वरुप कार्यदल सदस्य थानप्रसाद गैरेलाई समेत जिल्ला कार्यालयमा राखिएन । सिनियरलाई भन्दा जुनियरलाई स्थान दिइयो ।’ बैठकमा मापदण्ड विना जिल्ला कार्यालय र जिल्ला सचिवालय गठनको प्रस्ताव ल्याएको भन्दै बिरोध गरिएको हो । यसबारे प्रतिक्रिया लिन भण्डारीको मोबाइलमा फोन गर्दा कल रिसिभ भएन ।
बैठकमा मुख्यमन्त्री तथा प्रदेश ईञ्चार्ज शंकर पोखरेलले ‘सबैलाई मिलाएर लैजानुपर्छ ‘भन्ने आशयका साथ कुरा राखेर गई सकेपछि विवाद भएको थियो । बैठकमा नेकपा नेता तथा प्रदेश सरकारका प्रबक्ता बैजनाथ चौधरीले बोल्न नदिएपछि विवाद भएको स्रोतको भनाई छ । ‘खासमा उहाँ ( बैजनाथ चौधरी ) का बिषयमा कुरा उठाउनेहरुलाई निषेध गरियो’ – स्रोतको जिकिर थियो ।
बैठकमा पार्टी जिल्ला अध्यक्ष भविश्वर तिवारीले कार्यालय र सचिवालयको घोषणा गर्नुभएको जनाइएको छ । ‘बैठकमा लफडा हुने संकेत पाएपछि जिल्ला अध्यक्ष तिवारीलाई छिटो छिटो घोषणा गर्न लगायौं’ – एक सहभागीले भने । कार्याबिभाजनको बिरुद्धमा डोलराज भण्डारी, रिंगला यादव अशोक ज्ञवाली, बविता लगायतले प्रश्न उठाएको र त्यसमा सुरेन्द्र शर्मा, राधा ढकाल,रामु अर्यालले समेत आ–आफनै ढंगबाट प्रश्न गरेको बताइएकोछ । विवाद बारे सामाजिक संजालका केही टिप्पणी हेरौ


भावनात्मक रुपले अझै एकता पुर्ण भएको छैन –पोखरेल
नेकपा पश्चिम नवलपरासीको दोस्रो पूर्ण बैठकलाई मगंलबार परासीमा सम्बोधन गर्दै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भावनात्मक रुपमा अझै पनि एकता ‘पूर्ण नभएको ‘बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं प्रदेश ५ ईन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले सङ्गठनतात्मक एकता भएपनि विचार, कार्यशैली र व्यवहारमा अझै एक हुन बाँकी रहेको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले अहिले नेपाली काङ्ग्रेसले बोकेको उद्धार पुँजीवाद र नेकपाले बोकेको जनताको जनवादवीच प्रतिस्पर्धा रहेको भन्दै जनताको जनवादबाट समाजवाद स्थापना गर्ने नेकपाको लक्ष्य रहेको उल्लेख गर्नुभयो । बर्तमान सरकारले जनताको हितमा काम गरिरहेको पनि उहाँले ठोकुवा गर्नुभयो । यसैगरी नेकपा प्रदेश ५ कमिटी अध्यक्ष एवं पूर्व सभामुख ओनसरी घर्तीले समाजवाद हुँदै साम्यवाद स्थापना गर्न दुई कम्युनिष्ट पार्टीबीच एकता गरिएको उल्लेख गर्दै पार्टीले अघि सारेको समाजवाद उन्मुख जनताको जनवादले समृद्धि हासिल हुने बताउनुभयो । दुई पार्टीबीचको एकतामा फाटो ल्याउने चौतर्फी प्रयास भईरहेको भन्दै उहाँले सचेत रहन कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । नेकपा प्रदेश सचिव जगप्रसाद शर्माले नेपालमा समाजवाद स्थापना गर्नका लागि नै पार्टी एकता गरिएको बताउनुभयो ।
यस्तो छ जिम्मेवारी
नेकपा पश्चिम नवलपरासीको दोस्रो बैठकले कार्यालय, सचिवालय, निर्वाचन क्षेत्रमा ईन्चार्ज लगायतका जिम्मेवारी बाँडफाँड गरेको नेकपा पश्चिम नवलपरासीले जनाएको छ ।
एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको जिल्ला कमिटीको गठन भएपछि जिल्ला नेताहरुको जिम्मेवारी बाँडफाड भएको हो ।
सो बैठकमा घोषणा सात सदस्यीय कार्यालय टिममा जसमा जिल्ला अध्यक्ष भविश्वर तिवारी , सचिव तुल्सि पासी सहित शिवलाल कण्डेल,दिपेन्द्र अधिकारी, विमला अर्याल, केयरशिह कुवर र अकविर बिक रहेको जनाइएको छ । यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को ईन्चाजमा केयर सिंह कुवंर सह ईन्चाजमा पून्य पौडेल र निर्वाचन क्षेत्र २ को ईन्चाजमा थान प्रसाद गैरै र सह ईन्चाजमा कुमारी बिक चयन भएको बताइएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ अन्र्तगतको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ ईन्चार्जमा टेकनारायण उपाध्याय, सहईन्चार्जमा बासुदेव चौधरी तथा प्रदेश निर्वाचन क्षेत्र नंं २ को ईन्चार्जमा रुक्मागत ज्ञवाली, सहईन्चार्जमा अशोक ज्ञवालीलाई जिम्मेवारी प्रदान गरिएको नेकपाले जनाएको छ ।
यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को ईन्चार्जमा सरस्वती सुवेदी र सह ईन्चाजमा सदानन्द कोईराला तथा प्रदेश सभा क्षेत्र नं. २ को ईन्चार्जमा जनार्दन कुर्मी र सहईन्चार्जमा राममिलन शहानी चयन हुनुभएको थियो ।
बैठकले रामगाम नगरपालिकाको ईन्चाजमा बुद्धन अलि, सह ईन्चाजमा लक्ष्मी क्षेत्रि सुनवल नगरपालिकाको इनर््चाजमा बिमला अर्याल, सह ईन्चाजमा खड्क बस्नेत, वर्दघाट नगरपालिकाको ईन्चाजमा ध्रुव खनाल, सह ईन्चाजमा सरिता खनाल, पाल्ही नन्दन गाउँ पालिकाको ईन्चाजमा दुलारी हरिजन तथा सह ईन्चाजमा घनश्याम गुप्ता, सरावल गाउँ पालिकाको ईन्चाजमा प्रहलाद पासी र सह ईन्चजमा महेश हरिजन, प्रतापपुर गाउँ पालिकाको ईन्चाजमा दिपक शर्मा र सह ईन्चाजमा नरशिह कोहार ,सुस्ता गाउँपालिकाको इन्चार्जमा अमित खड्का र सह इन्चार्जमा नेतीराम चौधरी तोकिनुभएको जनाइएको छ ।
बैठकले ४५ सदस्यीय सचिवालय समेत गठन गरेको छ । जसमा भविश्वर तिवारी,तुल्सी पासी,अकविर विक, धिरज शर्मा , राम प्रसाद पाण्डे, अशोक ज्ञवाली,इजहार मीयाँ, कुमार आले, केहर सिह कुवँर, कृपालाल यादव, कृष्णचन्द्र यादव, खडाानन्द कोईराला, गोधन हरिजन, धनश्याम गुप्ता, चन्द्रकान्त ढकाल, जर्नादन कुर्मी, टेक नारायण उपाध्याय, डोलराज भन्डारी, डी.बि थापा, थमन शिह नेपाली, थान प्रसाद गैरै, दधिराम अर्याल, दुलारी हरिजन, दिपेन्द्र अधिकारी, दिपकराज शर्मा लगायत रहनुभएको थियो ।
विप्लव नेकपाका नेता पनि जिल्ला सदस्य
त्यस्तै विप्लव समुह परित्याग गरेका रमेश बस्याललाई नेकपाले समेटेको छ । पूर्व माओवादी समुहबाट उहाँलाई जिल्ला सदस्य बनाइएको हो । जिल्ला सचिवालय सदस्य बनाउने भनिए पनि पूर्व एमालेका नेताले रुचि नदेखाएपछि बस्याल जिल्ला सदस्य मात्र भएको बताइएको छ । उहाँ एमाओवादीबाट बैद्य माओवादी हुदै विप्लव नेकपामा सक्रिय हुनुभएको थियो ।

You might also like