बर्दघाटका स्थानीयले भारतमा बनाएको मन्दिर नेपाली समुदायको एकताको प्रतीक बन्दै

0

सिल्चर (आसाम भारत ) – आसाम राज्यको कछार जिल्ला लख्खीपुर टाउन अन्तरगत फुलेरतल बीचगाउ नेपालीबस्तीमा रहेको कालीमन्दिर प्रसिद्ध रहेको छ । नेपालीभाषी बीच प्रसिद्ध रहेको सो मन्दिर फुलेरतलका नेपालीहरुलाई एकताको प्रतीक बन्दै यहाँका अन्य समुदायको समेत आर्कषणको केन्द्र बन्दै गएको हो । नेपालको गुल्मी जिल्लाको पुर्तिघाट खत्रकबाट घर भई मुग्लान पसेका देउनारायण शर्मा र गुल्मीकै हर्मिचौरका मेघनाथ पाण्डेले करिब ५० बर्ष अघि स्थापना गरेको काली मन्दिर यसक्षेत्रका लागि नामी रहेको चन्द्रकली शर्माले बताउनुभयो । दुरपिन टिला भन्ने डाडोबाट शिला ल्याएर बनाइएको सो मन्दिरमा अहिले नेपालीहरु आफ्ना धर्म संस्कृति जोगाउनुका साथै नेपाली नेपाली बीच सदभाव राख्ने माध्यम बनाउने गरेका छन् । मन्दिर स्थापना गर्ने दुबै जनाको हाल निधन भइसकेको र मन्दिर उहाँहरुकै चिनो रहेको बीचगाउका दिलबहादुर क्षेत्रीले बताउनुभयो । हामी आउदाँ यहाँ मन्दिर थियौ हामीले पनि पाण्डे दाजु संग जग्गा लियौ र संगै पनि बसियो क्षेत्रीले स्मरण गर्नुभयो , उहाँहरुले यो एकताको चिनो छाडेर जानुभएको छ । नेपालीभाषी गोर्खालीहरु बीच दुख सुख साटने र सामुहिक भेला बैठक गर्ने स्थान पनि मन्दिर रहेको श्यामलाल जैसीको भनाई थियो । देउनारायणका परिवार फुलेरतलमै बस्दै आएका छन् भने पाण्डे परिवार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ दिब्यनगरमा बस्दै आएका छन् । पाण्डेका भाई केशव प्रसाद पाण्डेले दाजुले स्थापना गरेका मन्दिरले नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने काम गरेकोले खुसी लाग्ने गरेको बताउनुभयो । फुलेर तलको तीनवटा गाउमा करिब ७० घर नेपालीहरु रहेका छन् । यहाँका नेपालीहरुले नरिवल सुपारी र भु्ईकटरको खेती गर्नुका साथै गाईपालन र अन्य ब्यवसाय तथा जागिरमा समेत संलग्न रहेका छन ।

You might also like